कोरोनाले सुस्ताएको छिम्केश्वरीमा भक्तजन बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कोरोनाले सुस्ताएको छिम्केश्वरीमा भक्तजन बढ्दै

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि भक्तजन बढ्न थालेका छन् । कोरोनाका कारण सुस्ताएको छिम्केश्वरी माई मन्दिरमा यतिबेला दैनिक रुपमा भक्तजनको उपस्थिति बाक्लिदै गएको छ ।

    आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाईमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

    सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ ।

    कोरोनाका कारण छिट्टफुट्ट भक्तजन आउने छिम्केश्वरीमा यतिबेला बाक्लो उपस्थिति रहने गरेको आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । “अहिले शनिबार र बिदाको दिनमा त दैनिक दुई÷तीन सय भक्तजन आइरहनुभएको छ,” गुरुङले भन्नुभयो, “बाटो पनि सहज भएकाले अरु दिनमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।” उहाँका अनुसार कोरोना कहरका बीचमा पनि छिम्केश्वरी माई मन्दिरमा दर्शनका लागि भक्तजन आउने गर्दथे । “तर अहिले चहलपहल ह्वात्तै बढेको छ,” वडाध्यक्ष गुरुङले भन्नुभयो ।

    मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासमा यहाँ भक्तजन आउने गरेको मन्दिरका पूजारी धनराज गुरुङले बताउनुभयो । छिम्केश्वरीमा फागुपूर्णिमा र वैशाख १ गते विशेष मेला लाग्ने गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुननिर्माण पनि गरिरहेको छ । छिम्केश्वरी डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले पनि पहल गरिरहेको जानकारी दिनुभयो । छिम्केश्वरी, आँधिमूल लगायतका ठाउँको प्रचारप्रसारका लागि गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

    छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।

    छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिढी निर्माण भएसँगै छिम्केश्वरी माई मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिनुभयो । पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् रु ६० लाख ८५ हजार नौ सय ५६ लगानी भएको छ भने स्थानीयवासीले रु १५ लाख ७४ हजार ८ सय ९० बराबरको जनश्रमदान गरेका थिए । सवारी साधनको अन्तिम बिन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडी बाटो विस्तार नहुँदा करीब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

    गण्डकी प्रदेश सरकारकै लगानीमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रेको काम पनि गत वर्षदेखि शुरु भएको छ । कोभिडका कारण केही समय रोकिएको सडकको कामले अहिले गति लिन थालेको छ ।

    प्रदेश सरकारको रु ३० करोडको लागतमा सडक कालोपत्रेका लागि काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्रे सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाई कालोपत्रे र एक मिटर नाला सहित सात मिटर चौडाईको सडक हुनेछ । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ ।

    छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडीदेखि घरबास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेको दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

    त्यस्तै लाब्दीगाउँमा पनि घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । १३ घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएपनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको थियो । लाब्दीका १३ घरमा घरबास सञ्चालनको तयारी छ ।