दुलेगौँडा : सरकारले दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिईरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबारदेखि यो अभियान चल्नेछ ।
चैत्र २ गतेसम्म चल्ने यो अभियानमा ४ हजार जेष्ठ नागारिकलाई खोप लगाईने शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । नगरभित्र रहेका १८ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको उहाँले बताउनुभयो । प्रत्येक खोप केन्द्रमा १ जना भ्याक्सिनेटर र ४ जना सहयोगी खटाईनेछ ।
‘खोप अभियानका लागि तयारी पूरा भईसकेका छ । गर्नुपर्ने व्यवस्थापन सहित अभियान सञ्चालन गर्दैछौँ’, बुधबार कोभिड खोप सञ्चालन अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा श्रीवास्तवले जानकारी दिनुभयो ।
मेयर किसान गुरुङले देशभर कोभिड विरुद्धको खोप लगाएकाहरुलाई कुनै पनि गम्भीर असर नदेखिएकाले ढुक्क भएर नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन जेष्ठ नागरिकलाई अनुरोध गर्नुभएको छ । खोप लगाउन आउनेको आत्माबल बढाउन आवश्यक देखिएको उहाँले बताउनुभयो ।