तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब ४ अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको छ ।
नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले करिब चार अर्ब लगानी गर्ने गरी व्यास हिल्सको नाममा प्रस्ताव परेको बताउनुभयो । “स्विमिङ पुलसहितको रिसोर्ट, जिपलाइन, केबलकार बनाउने प्रस्ताव आएको छ । हामीले डीपीआरका लागि अनुमति दिएका छौं,” उहाँले भन्नुभयो । कम्पनीले पाटनबाट मानुङकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ ।
कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको छ । “उहाँहरूले कति जग्गा किन्न सक्नुहुन्छ, त्यसमा भरपर्छ । हामी केही जग्गा भाडामा दिन्छौं र वार्षिक कर लिन्छौं,” न्यौपानेले भन्नुभयो । कम्पनीले विस्तृत परियोजना रिपोर्ट दिएपछि स्वीकृतिका लागि सङ्घीय सरकारसँग पनि कुराकानी गर्ने उहाँले बताउनुभयो । “हामीले मात्रै दिएर हुँदैन सङ्घीय सरकारको पनि स्वीकृति चाहिन्छ,” उहाँले भन्नुभयो ।
कम्पनीले ग्लास पुल अर्थात् ‘सिसाको पुल’ बनाउने प्रस्ताव गरेको छ । मानुङकोटमा जिपलाइनका लागि यसअघि पनि प्रस्ताव गएका थिए तर लगानीकर्ताले त्यसलाई निरन्तरता दिएनन् । नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकाको विकासका लागि लगानीकर्तालाई आकर्षित गर्ने कानुन बनाइरहेको बताउनुभयो । (बाह्रखरीबाट)