छुट सुविधा उपयोग गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    छुट सुविधा उपयोग गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : आन्तरिरक राजश्व कार्यालय दमाैलीले आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । आर्थिक ऐनले दर्ता भएर विवरण नबुझाएका र दर्ता नभएका करदातालाई फागुन मसान्तसम्ममा दर्ता गरेर कर बुझाएमा विशेष छुटको व्यवस्था गरेको छ ।

    कार्यालयले जारी गरेको सूचनामा कुनै व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा त्यसअघिका वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुने जनाइएको छ ।

    यस्तै लेखा नं लिएर विवरण पेश नगरेका वार्षिक रु ५० लाखसम्म कारोवार गर्ने व्यक्तिले गएका तीन आर्थिक वर्षको आय विवरण, आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाएमा त्यसअघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने सूचनामा उल्लेख छ । स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा माथि कारोवार गर्ने व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।

    विसं २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने कर दाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने छ ।

    कार्यालयका प्रमुख नारायण ढकालले कर तिर्न बाँकी रहेका करदाताहरुलाई राम्रो अवसर रहेको भन्दै यसको उपयोग गर्न आग्रह गरिएको बताउनुभयो ।