तनहुँ : लागत घटाउँदै उत्पादन बढाउन तनहुँका सरोकारवाला निकायले कृषि यान्त्रिकरणमा जोड दिएका छन् । परम्परागत रुपमा गरिँदै आएको कृषि व्यवसायमा लागत घटाउन कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषि यान्त्रिकरणमा जोड दिएका हुन् ।
सोही बमोजिम कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका कृषकलाई अनुदानमा उपकरण वितरण गरेको छ । केन्द्रले आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका कृषकलाई ९० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।
मकै, भटमास तथा चैते धान कार्यक्रम मार्फत् मार्कीचोकका कृषकलाई रु आठ लाख सात हजार पाँच सय बराबरको कृषि उपकरणहरु हस्तान्तरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । त्यसमध्ये ९० प्रतिशतबापतको रु सात लाख २० हजार चार सय ५० ज्ञान केन्द्रले अनुदान दिएको छ भने दश प्रतिशतबापतको रु ८० हजार सात सय ५० कृषकले बेहोर्नुपर्नेछ । ज्ञानकेन्द्रले मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादन समूहलाई मकै छोडाउने मेसिन, मकै बीउ, विभिन्न प्रकारका विषादी लगायत वितरण गरेको छ ।
ज्ञान केन्द्रले तीन सय ५० रोपनीमा लगाउनका लागि चार सय ३७ केजी मकै बीउ (सिपी जात), एक सय रोपनी लगाउनका लागि एक सय २५ केजी मकै बीउ (उन्नत जात), आठ वटा मकै छोडाउने मेसिन, पाँच वटा मकै बीउ रोप्ने मेसिन, दुई वटा धार गोड्ने मेसिन, दश थान स्प्रेयर लगायतका सामग्री वितरण गरेको छ ।
“कृषिमा यान्त्रिकरण गर्दै लागत घटाउने उद्देश्य सहित विभिन्न उपकरण प्रदान गरेका हौ,” ज्ञान केन्द्रका प्रमुख तिवारीले भन्नुभयो, “यसले कृषकलाई सहज हुनुका साथै लागत घटाउन सहयोग पुग्छ ।” तिवारीका अनुसार पछिल्लो समय मकै, भटमास खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएकाले अनुदान दिएर यसखेतीतर्फ कृषकको आकर्षण बढाउन खोजिएको छ । उहाँका अनुसार जिल्लाका हरेक पालिकामा तीन वटा ब्लक बनाएर कार्यक्रम सञ्चालन गरिएको छ ।
मार्कीचोकका कृषक सोलबहादुर चितौरेले कृषि उपकरणमार्फत् कृषि खेती गर्दा समयको बचतसँगै लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । “परम्परागत रुपमा गरिने कृषिखेतीले निर्वाह गर्न मात्रै पुग्छ, कृषिमा यान्त्रिकरण अहिलेको आवश्यकता भइसकेको छ,” चितौरेले भन्नुभयो ।
गोरु पाल्ने चलन घट्नु र युवाहरु विदेशिने कारणले खेतबारी बाँझो हुने क्रम बढ्दो छ । गाउँघरमा रहेका जग्गालाई बाँझो हुन नदिन र कृषितर्फ आकर्षित गराउन व्यास नगरपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा १४ वटा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो ।
किसानको माग अनुसार प्रत्येक वर्ष हाते ट्याक्टर अनुदानमा वितरण हुँदै आएको छ “यस वर्ष २० जनाले हाते ट्याक्टर माग गर्नुभएको थियो । अहिलेलाई १४ वटा ट्याक्टर वितरण गरेका छौ,” वाग्लेले भन्नुभयो । आधुनिक र व्यावसायिक खेती प्रणालीमा अग्रसर गराउन किसानलाई आवश्यक औजार, तालिम लगायतको सहयोग नगरपालिकाबाट हुँदै आएको छ ।
हाते ट्याक्टर गोरुले जोत्नभन्दा धेरै सजिलो र छिटो हुने किसानको भनाई छ । व्यास नगरपालिका–५ का बलबहादुर श्रेष्ठले भनेको समयमा गोरु नपाइएकाले हातेट्याक्टर अनुदानमा लिएको बताउनुभयो । “आवश्यक परेको बेला हलगोरु पाइँदैन, हाते ट्याक्टरले जोत्न पनि सजिलो छ,” उहाँले भन्नुभयो ।
घिरिङ गाउँपालिकाले पनि कृषकहरुलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले पछास प्रतिशत अनुदानमा हाते ट्याक्टर, थ्रेसर मेसिन र बेसार पिस्ने मेसिन कृषकलाई हस्तान्तरण गरेको हो । ३२ जना कृषकलाई हाते ट्याक्टर, पाँच जना कृषकलाई धान झाँट्ने थ्रेसर मेसिन र एक जना कृषकलाई बेसार पिस्ने मेसिन सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले सूचना प्रकाशित गरि इच्छुक कृषकहरुलाई पचास प्रतिशत अनुदानमा कृषि औजारको लागि निवेदन दिन आह्वान गरेको थियो । निवेदन दिएका कृषकमध्ये मापदण्ड पुगेकालाई प्राथमिकताको आधारमा सामग्री सहयोग गरिएको हो ।
कृषि औजार खरिदका लागि टेण्डर आह्वान गरि हाते ट्याक्टर रु ६६ हजार, थ्रेसर मेसिन रु ५२ हजार र बेसार पिस्ने मेसिनलाई रु २५ हजारमा खरिद गरिएको र कृषकलाई पचास प्रतिशत अनुदानमा उपलब्ध गराईएको छ ।