थर्पुले उचाल्यो नवौ आदर्श कपको उपाधि (फोटो फिचर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    थर्पुले उचाल्यो नवौ आदर्श कपको उपाधि (फोटो फिचर सहित)

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, शनिबार

    दुलेगाैडा : नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साईड फुटबलको उपाधि थर्पु युवा क्लब ‘ए’ ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा दोभान फुटबल क्लब भादगाँउलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै थर्पुले उपाधि कब्जा गरेको हो ।

    खेलको पहिलो मिनेटमै थर्पुका समिर प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो त्यसपछि पाएका केही अवसरमा थर्पु चुक्यो । दोभानले थर्पुलाई निकै दबाबमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेन ।

    दोश्रो हाफको १३ मिनेटमा दोभानका कान्छा गुरुङले गोल गर्दै खेललाई बराबरीमा पु¥याउनुभएको थियो । त्यसपछि निकै आक्रामक खेलेको दोभानका खेलालीले थप गोल गर्न सकेनन् । निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि ट्राईबेकरमा धकेलिएको थियो ।

    थर्पुले उपाधिसँगै नगद एक लाख एक रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दोभानले ५० हजार एक रुपैयाँमा चित्त बुझाएको छ ।

    शनिबार नै भएको पहिलो सेमिफाइनल खेलमा थर्पु ‘बि’ लाई ५–० गोल अन्तरले पाखा लगाउँदै दोभानले फाइनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाईनलमा थर्पु ‘ए’ ले इगल फुटबल क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै दोभानसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

    फाइनल खेलको म्यान अफ दि म्याच थर्पुका सरोज तामाङ घोषित हुनुभयो । सर्वोत्कृष्ट खेलाडी थर्पुका मनिष क्षेत्री, उत्कृष्ट डिफेन्डर दोभानका विमल राना, उत्कृष्ट गोलरक्षक थर्पुका रोमन थापा मगर, सर्वाधिक गोलकर्ता दोभानका दिपक थापा घोषित हुनुभएको छ ।

    विजेता समूह तथा खेलाडीलाई म्याग्दे गाउँपालिका प्रमुख मायादेवी राना, आदर्श नमुना युवा क्लबका अध्यक्ष गौरवराज रानाले पुरस्कार वितरण गर्नुभयो । आदर्श नमुना युवा क्लब म्याग्दे–४ मनहरीको आयोजनामा गत २४ गते शुरु प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।
    प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले गर्नुभएको थियो भने फाइनलको दिनमा कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत आउनुभएको थियो ।