दमौलीमा खुल्यो पूजा सामग्री उद्योग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा खुल्यो पूजा सामग्री उद्योग

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    तनहुँ : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्य सहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

    उद्योगबाट ८५ जना महिलाले रोजगारी पाएको गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार दुनाटपरी, बाँधेको धूप, सात थरी काठको दाउरा, पोते, डोरी, टिका लगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ । “निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ,” गौलीले भन्नुभयो ।

    उक्त उद्योगबाट पाँच सय महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको गौलीले बताउनुभयो । दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेको दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ । हाल बजारमा दुना टपरीको राम्रो माग भएपनि स्थानीय सरकारको तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “फुर्सदिला कम्तिमा पाँच सय जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका पूजा सामग्रीको हाते उद्योग सञ्चालन गरेको हूँ,” गौलीले भन्नुभयो ।

    उक्त उद्योगको शनिबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले महिलालाई स्वरोजगार बनाउन आवश्यक तालिम नगरपालिकाको तर्फबाट सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।