तनहुँ : नौ दिनको अवधिमा तनहुँका १७ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ । फागुन २३ गतेदेखि शुरु भएको दोस्रो चरणको अभियान अन्तर्गत जिल्लाका १७ हजार १३ ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो ।
दोस्रो चरणको खोप अभियान जिल्लामा दुई चरणमा शुरु भएको थियो । पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका ९ हजार दुई सय ६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका ९ हजार दुई सय ६७ जनालाई खोप लगाइएको छ ।
दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका सात हजार सात सय ४६ जनालाई खोप लगाइएको छ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने लक्ष्य भएपनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
दश पालिकामा खोप लगाउनका लागि ९४ खोपकेन्द्र निर्धारण गरिएको थियो । यसक्रममा २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ । खोप अभियान मङ्गलबार पनि जारी रहने कार्यालयले जनाएको छ ।