खेलमैदान मासेर मञ्च बनाउँदै व्यास नगरपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खेलमैदान मासेर मञ्च बनाउँदै व्यास नगरपालिका

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ मा रहेको खेलमैदानमा विगतमा धेरै फुटबल प्रतियोगिता हुन्थे । दमौली अस्पताल अगाडी रहेको खेलमैदानमा हुने फुटबलको छुट्टै रौनकता हुन्थ्यो ।

    व्यास नगरपालिकाले खेलमैदानलाई पार्क बनाउने भनेपछि यस ठाउँमा खेल हुन छाड्यो । यसको विकल्पमा नगरपालिकाले बिपी वनवाटिकालाई खेलमैदान बनाउने गरी बजेट समेत विनियोजन गरेर काम अगाडी बढायो। उक्त मैदानलाई रङ्गशाला बनाउने भन्दै विनियोजित बजेटले मैदान सम्याउने र पर्खाल बनाउने काम भएको छ ।

    १०८ फिटको व्यासमूर्ति बन्ने भएपछि बिपी वनवाटिकाको खेलमैदान पनि के हुने भन्ने अन्यौल कायमै छ । यद्यपि नगरपालिकाले बिपी वनवाटिकामा रहेको कभर्डहल पनि अन्यत्रै सारेर त्यहॉ खेलमैदान नै बनाउने जानकारी दिएको थियो । व्यासमूर्ति लगायतका संरचना बन्ने भएपछि यहॉ दैनिक सयौकौ सङ्ख्यामा सर्वसाधारण आउने निश्चित छ । त्यसका लागि बीपी वनवाटिकाको खेलमैदानलाई पार्किङस्थल बनाउनुपर्ने आवाज उठिरहेको छ ।

    खुल्लामैदानमा खेल हुन छाडेपनि उक्त ठाउँ खेलाडीले प्रशिक्षण गर्ने थलोको रुपमा विकास भइरहेको छ। तर अब खेलाडीलाई त्यो अवसर पनि प्राप्त नहुने भएको छ । खुल्ला मैदानमा व्यास नगरपालिकाले मञ्च बनाउने तयारी गरेको छ। त्यसका लागि मङ्गलबारबाट काम शुरु भइसकेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडी बढेको छ ।

    खेलमैदान मासेर मञ्च बनाउन लागेपछि विरोधका स्वर सुनिन थालेको छ । खेलाडी एवं रेफ्री इन्द्र गुरुङले खेलमैदानमा मञ्च निर्माण शुरु गरिएपछि विरोध जनाउनुभएको छ । “व्यवस्थित खेलमैदानको अभावमा जसोतसो खेल सिक्दै आएका खेलाडीको एकमात्र खेल्ने मैदान पनि अब स्वाहा हुने भयो,” गुरुङले भन्नुभयो ।

    खेलमैदान मासेर कङ्क्रिट संरचना निर्माण गर्ने तयारीपछि नगरवासीले विरोध जनाएका छन् । वृद्धवृद्धालाई मर्निङवाक गर्ने थलोको रुपमा रहेको यस ठाउँलाई अहिलेकै अवस्थामा राख्नुपर्ने नगरवासीको माग छ ।

    व्यास नगरपालिकाले भने उक्त ठाउँमा पार्क निर्माण गर्ने तयारी गरेको बताएको छ। प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले खेलमैदानमा स्मार्ट पार्क बनाउन लागिएको बताउनुभयो ।