तनहुँ : तनहुँको व्यास नगरपालिकाका चार वटा वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरबाट चार सय ५७ महिला लाभान्वित भएका छन् । व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिलाहरु लाभान्वित भएका हुन् ।
आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा, क्यान्सर सम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाहरुले शिविरकै क्रममा उपचार पाएका छन । जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएका छन् । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुलाई काठमाडौमा निशुल्क शल्यक्रिया सेवा प्रदान गरिने पौडेलले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन वडा नम्बर ९ का एक सय ७२ जना महिलाहरुले सेवा लिएका थिए । सो ठाउँमा परीक्षण गरिएकामध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै वडा नम्बर ८ का एक सय १५ जना महिलामा गरिएको परीक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको छ । वडा नम्बर १० का ८१ महिलामा गरिएको परीक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको छ भने वडा नं ११ मा ८९ जनामा गरिएको परीक्षणमा ४० प्रतिशतमा आङ खस्ने समस्या पाइएको छ ।
शिविरमा भिआइए विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले जानकारी दिनुभयो । त्यस्तै पचास प्रतिशत भन्दा बढी महिलामा पानी बग्ने समस्या र करिब ३५ देखि ४० प्रतिशतमा आङ खस्ने समस्या देखिएको उहाँले बताउनुभयो ।
आङ खस्ने समस्याको पहिलो चरणका महिलालाई औषधी आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गर्न सुझाव दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो चरणमा पुगेका महिलाहरुलाई तत्कालका लागि औषधी र अन्य उपचार गरिएको छ । आङ खस्ने समस्याको तेस्रो र चौथो चरणमा रहेका महिलाहरुलाई एक महिनापछि काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ ।
विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास नगरपालिका–११ निवासी ८४ वर्षीया विष्णुमाया भुजेलले यतिका वर्षपछि उपचार पाउँदा खुशी लागेको बताउनुभयो । पाठेघरको समस्याको उपचार बारे थाहा नपाएर यतिका वर्ष पीडा सहेर बस्न बाध्य भएको बताउँदै उहाँले घरदैलोमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताउनुभयो ।