तनहुँसुरमा सामुदायिक घरबास सञ्चालन (फाेटाे फिचर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुरमा सामुदायिक घरबास सञ्चालन (फाेटाे फिचर सहित)

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरमा सामुदायिक घरबास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि खाना तथा आवासको सहज व्यवस्थापन गर्न घरबास सञ्चालन गरिएको हो ।

    पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका वासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरबास सञ्चालन थालिएको उहाँले बताउनुभयो ।

    कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्नेछन् । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिनुभयो ।

    उक्त घरबासको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभयो । मन्त्री चुमानले ग्रामीण पर्यटनबाट समृद्धि सम्भव भएको बताउँदै संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रबद्र्धनका लागि घरबासको भूमिका महत्वपूर्ण हुने बताउँदै ऐतिहासिक एवं सहिद गाउँ तनहुँसुरको प्रबद्र्धनका लागि नगरपालिका जुटिरहेको बताउनुभयो । “सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई मध्यनजर गर्दै घरबास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गरेको छ,” न्यौपानेले भन्नुभयो ।

    तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । यहाँ रहेको ऐतिहासिक खड्गदेवी मन्दिरको केही दिन अगाडीबाट पुनर्निर्माण शुरु भएको छ । पुरातत्व विभागको रु ७० लाखको लागतमा खड्गदेवी मन्दिरको पुनर्निर्माण शुरु गरिएको हो ।

    तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

    तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

    विसं २०२५ सालसम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँमा बसाई सरेर गएका छन् । तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

    तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको ६ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ ।

    सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

    उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाई धर्माङ्गद सेनले ल म जुङ्ग भनेकोले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ ।

    तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

    तस्वीर : हरिसिं गुरुङ