दमौली : क्यान्सरबाट पीडित भई भारतमा उपचाररत एक युवाको उपचारमा सहयोग जुटाउन तस्वीर विक्री गरिएको छ । तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारमा सहयोग जुटाउन शुक्रबार दमौलीमा फोटो प्रदर्शनी गरी विक्री गरिएको हो ।
प्रदर्शनीमा स्वयं उहाँले नै खिचेका तस्वीरहरु राखिएको थियो । प्रदर्शनीबाट १०७ वटा तस्वीर विक्री भएको उहाँका साथी सनम अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा देशका विभिन्न भागमा खिचिएका तस्वीर राखिएको थियो । एउटा तस्वीरको मूल्य रु दुई हजार राखिएको थियो ।
सोही फोटोहरु वैशाख १ गते बन्दीपुरमा प्रदर्शनी गरिनेछ ।
दरै क्यान्सरसँग जुध्दै जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । आन्द्रामा क्यान्सर भएर विगत केही वर्षदेखि भारतमा उपचाररत दरै एक कुशल फोटोग्राफर हुनुहुन्छ । फोटोग्राफीमा निकै रुची राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्नुहुन्थ्यो ।