तनहुँ : चैत महिना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँ जिल्लाका विभिन्न भागमा यतिबेला कृषकहरु चैते धान रोप्न व्यस्त छन् ।
व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो । मुख्य पेशा नै कृषि भएकाले वर्षौदेखि धान रोप्दै आएको उहाँले बताउनुभयो । तरकारीखेती, भैसीपालन, मौरीपालन गर्नुभएका उहाँले भन्नुभयो, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।” उहाँका अनुसार पोल्याङका धान फाँटहरुमा चैते धान रोपाइँ सम्पन्न भएको छ । “पोल्याङ धान उत्पादनका लागि राम्रो क्षेत्र हो, यहाँका कृषकले चैते धान रोपिसके,” उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैतेधान रोप्न व्यस्त छन् । म्याग्दे गाउँपालिका–३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषकहरु चैतेधान रोप्न व्यस्त रहेको बताउनुभयो । “धयरेका फाँटहरु यतिबेला कृषकले भरिएका छन्, कृषकहरु धान रोप्न व्यस्त छन्,” उहाँले भन्नुभयो । वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे गाउँपालिका–४ का चन्द्रबहादुर रानाले बताउनुभयो ।
किसानहरु यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्ने लगायतका काममा व्यस्त छन् । किसानहरुले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् ।
जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे र ३ हजार ५ सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकहरुले सावित्री, मकवानपुरे लगायतका उन्नत जातका धान खेती लगाउने गरेका छन् ।