बन्दीपुरलाई ‘एडभेन्चर स्पट’ बनाउन पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरलाई ‘एडभेन्चर स्पट’ बनाउन पहल

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७७, मंगलवार

    तनहुँ : पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण तीव्र गतिमा अगाडी बढेको छ । ५३ वर्ष भन्दा अघिको पुरानो सदरमुकामको बिरासतलाई बिर्साउने गरी बन्दीपुर पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य बन्ने दिशामा अगाडी बढेको छ ।

    बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको दक्षिण एसियाकै अनौठो पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडी बढ्ने क्रम अगाडी बढिरहेको छ ।

    बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बढ्दै गएको लगानीकर्ताहरु बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा बन्दीपुर केबुलकारले थप प्रबद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक स्थलको रुपमा विकसित हुने दिशामा अगाडी बढेको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

    साहसिक स्थललाई केन्द्रमा राखी बन्दीपुर केबुलकार एण्ड टुरिजमले आफ्ना सहायक कम्पनीहरु मार्फत् संसारको अग्लो बन्जी जम्पको निर्माण प्रकृया अगाडी बढाएको छ । यस्तै जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६ सय मिटर लामो भिरमा टुडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो शिशाको पुल समेत बनाउने गरी डिपिआर तयार गरिएको छ ।

    यस्तै थप एडभेन्चरको मज्जा दिन स्काइसाइकिलिङ लगायतका मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजार भन्दा बढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । कोप्स टु गोभ्सको लगानी सम्बन्धी सैद्धान्तिक अवधारणामा पाँच वटा सहायक कम्पनी मार्फत् थप रु एक अर्ब लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले जानकारी दिनुभयो । “हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइकिलिङ सेवा समेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि बढाउने योजना अगाडी सारेका छौ,” शर्माले भन्नुभयो ।

    बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेशनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट संसारकै फराकिलो ह्वाइट सि (कुहिरोको समुन्द्र) देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ । बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्ता मार्फत् रु १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । “बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ,” उहाँले भन्नुभयो ।

    आरकेडी समूह अन्तर्गत रहेको यस कम्पनी समूहमा हाल स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् । कम्पनी समूहमा कर्पोरेट रुपमा आरकेडी होलडिङस, टुरिजम इन्भेसमेन्ट फण्ड लिमिटेड, पञ्ञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड, बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, आरकेडी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र बिजबजार लिमिटेड सहित थप पाँच सहायक कम्पनीहरुले एकीकृत रुपमा कार्य गरिरहेका छन् ।

    कम्पनीको बैकिङ र आर्थिक साझेदारीको रुपमा नेपाल एसबिआई बैङ्क प्रमुख नेतृत्वमा र एनएमबि बैङ्क सहायक रुपमा छन् । मुख्य कम्पनीको बैकिङ साझेदारीको रुपमा सिभिल बैङ्क लिमिटेड र कुमारी बैङ्क लिमिटेडले कम्पनी समूहलाई साथ दिएको कम्पनी समूहका सञ्चालक किरण पोख्रेलले जानकारी दिनुभयो ।

    यस अभियानलाई साथ दिन बन्दीपुर केबुलकार परियोजनामा बन्दीपुर गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रबद्र्धनका लागि सचेतना जगाउने कार्य गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । यसले गर्दा स्थानीयवासी समेत लगानीका लागि आकर्षित हुँदै गएका छन् ।