तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडी जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी ग¥यो । अदालतको आदेशपछि सवारी साधन भएका स्थानीयवासी व्यास नगरपालिका–५ पाटनको बाटो हुँदै दमौली आउन थाले ।
अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारी साधन भएकालाई वारी आउन केही समय बढी लाग्ने अवस्था आयो । तर केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थालियो । अदालतको निर्णय अव्यहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन भयो ।
झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो । झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ । त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेट भन्दा बढी लाग्छ ।
झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आए । विगतमा धेरै सरकार बनेपनि स्थानीयवासीको माग पूरा हुन सकेन ।
तर सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ । सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका किरण गुरुङले उक्त ठाउँमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेसँगै पुल निर्माणको काम शुरु भएको छ । “यहाँ पक्की पुल माग गर्दा धेरै वर्ष बिते, प्रदेश सरकारले बल्ल हाम्रो माग सुन्यो,” स्थानीयवासी निर्मला तिवारीले भन्नुभयो, “पुल निर्माण शुरु भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।”
उहाँका अनुसार झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा बिहानको समयमा विद्यालय आउने बालबालिकालाई जोखिम उत्तिकै छ । “बिहानको समयमा बालबालिका विद्यालय जाने क्रममा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाइदिँदा समस्या हुँदै आएको छ, अब त पुल बनेपछि सहज हुने भयो,” उहाँले भन्नुभयो । स्थानीय विजयलक्ष्मी थापाले स्थानीयवासीको माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।
प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाई ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।