तनहुँ : तनहुँका पाँच जना प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका तीन सय ६६ प्रहरी निरीक्षक सरुवा गर्दा तनहुँका पनि पाँच जना प्रहरी निरीक्षक सरुवामा पर्नुभएको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीको जिल्ला प्रहरी कार्यालय लमजुङमा सरुवा भएको छ । गण्डकी प्रदेश प्रहरी आवासीय माध्यमिक विद्यालय बेलचौताराका प्रहरी निरीक्षक जनार्दन घिमिरेको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका शिवराज क्षेत्रीको सङ्घीय प्रहरी एकाई कार्यालय पोखरामा सरुवा भएको छ । गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण गुल्म नं ४ तनहुँका सन्तोष पौडेलको जिल्ला प्रहरी कार्यालय मनाङ सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक सविता केसीको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।
गण्डकी प्रदेश प्रहरी आवासीय माध्यमिक विद्यालय बेलचौतारामा प्रहरी प्रधान कार्यालय कानून शाखाबाट विनोद सुवेदी आउनुहुने भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट भानु शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँ आउनुहुने भएको छ ।
बन्दीपुरमा प्रहरी निरीक्षकको दरबन्दी
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बन्दीपुरमा प्रहरी निरीक्षकको दरबन्दी थप गरेको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा प्रहरी निरीक्षकको दरबन्दी थप गर्न माग हुँदै आएको थियो ।
सोही बमोजिम बन्दीपुरमा प्रहरी निरीक्षकको रुपमा विकास अधिकारी आउनुहुने भएको छ । उहाँको गण्डकी प्रदेश विपद् व्यवस्थापन कार्यदल बागलुङबाट इलाका प्रहरी कार्यालय बन्दीपुरमा सरुवा भएको छ । बन्दीपुरमा यस अगाडी प्रहरी नायब निरीक्षकको दरबन्दी थियो ।