तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा काङ्ग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताउनुभयो ।
शुक्रबार मात्रै नेपाली काङ्ग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडी बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन काङ्ग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यसविषयमा आफूले अहिल्यै नबोल्ने बताउनुभयो ।
नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा काङ्ग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भन्नुभयो, “काङ्ग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकोमा हात राखेर बस्नुको विकल्प हुँदैन ।”
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेसकै केही नेताले चुनाव चुनाव भनिरहेको सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राख्नुभयो । “जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धी प्राप्त गर्नुपर्छ,” पौडेलले भन्नुभयो, “केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?”