व्यास झुलालाई यस्ताे बनाउने तयारी !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास झुलालाई यस्ताे बनाउने तयारी !

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाको रुपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्यकरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआर अनुसार पुलको सौन्दर्यकरणका लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । “पुलमा जडान गरिने बत्तीले यो क्षेत्रमा धेरै पर्यटकको रोजाइमा पर्न सक्छ,” पाण्डेले भन्नुभयो । पुलमा बत्ती जडानका लागि मात्रै रु २० लाख १६ हजार तीन सय १६ बजेट आवश्यक पर्ने देखिएको छ ।

    व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ, जहाँ पराशर र सत्यवतीको आकृति समेत झल्काइनेछ । “व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको छ,” उहाँले भन्नुभयो ।

    परामर्शदाताले निर्माण गरेको डिपिआरमाथि छलफल गर्न आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । पौडेलले व्यास पराशर क्षेत्रलाई हिन्दुहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताउनुभयो ।

    वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले भन्नुभयो, “व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुललाई सौन्दर्यकरण गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटो भन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ ।” व्यास नगरपालिका–५ मानुङकोट पनि विकासको क्रममा अगाडी बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाई थियो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताउनुभयो ।