तनहुँ : क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा रु पाँच लाख भन्दा बढी सहयोग जुटेको छ । व्यास नगरपालिका–२ घर भई हाल अमेरिकामा रहनुभएका किरण श्रेष्ठको सक्रियतामा पाँच लाख ३३ हजार ८२१ सहयोग सङ्कलन भएको हो ।
उक्त रकम पीडित दरैको नाममा माछापुच्छ«े बैङ्कमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानका रहेका साथीहरुबाट उक्त रकम सङ्कलन भएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम सङ्कलन अभियान जारी रहेकाले पाँच सय अमेरिकी डलर जम्मा गर्न बाँकी छ ।
“क्यान्सर पीडित विकासको उपचारका लागि सहयोग गर्न अपिल गरेको थिएँ, विभिन्न देशमा रहनुभएका साथीहरुले उक्त अभियानमा सघाइदिनुभयो,” श्रेष्ठले भन्नुभयो, “सङ्कलित रकमले विकासको उपचारमा सहयोग पुग्ने विश्वास छ ।”
केही दिन अघि मात्रै व्यास साङ्गीतिक समूहले पनि क्यान्सर पीडित दरैको उपचारका लागि रु दुई लाख २८ हजार एक सय ५५ सहयोग गरेको थियो । त्यस्तै विकासका साथीहरुले विकासले नै खिचेका तस्वीर विक्री गरेर रु दुई लाख भन्दा बढी रकम जुटाएका छन् ।
विगत केही वर्षदेखि दरै क्यान्सरबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । आन्द्रामा क्यान्सर भएका दरै जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । फोटोग्राफीमा रुची राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्नुहुन्थ्यो । पीडितका बुबा हस्तबहादुर दरैले छोराको जीवन बचाइदिन अनुरोध गर्दै सहयोगको याचना गर्दै आउनुभएको छ ।