तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित शान्ति पार्कभित्र अवस्थित तनहुँ कालिका मन्दिर निर्माण सम्पन्न भएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कभित्र मल्लकालिन प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको हो ।
रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर मङ्गलबार उद्घाटन गरिएको छ । मन्दिरको सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद श्रेष्ठले तनहुँ कालिका गण्डकी प्रदेशको गहनाको रुपमा रहेको बताउनुभयो । मन्दिर क्षेत्रमा थप पूर्वाधार निर्माणको खाँचो रहेको औंल्याउँदै सांसद श्रेष्ठले त्यसका लागि सङ्घीय सरकारका तर्फबाट रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले तनहुँ धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र त्यसलाई तनहुँ कालिका मन्दिरले पनि थप सहयोग पुग्ने चर्चा गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ कालिका मन्दिरलाई मौलाकालि मन्दिरको रुपमा विकास गर्नुपर्ने र यसको सञ्चालनको जिम्मा व्यास नगरपालिकाले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक पर्यटन विकासमा तनहुँ कालिका मन्दिरले योगदान दिने भन्दै पर्यटन क्षेत्रको विकासका लागि सङ्घको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
दुई वर्ष अगाडीदेखि निर्माण शुरु भएको मन्दिर मल्लकालिन प्यागोडा शैलीमा बनाइएको छ । गत वर्ष कोभिडका कारण बन्दाबन्दी हुँदा मन्दिर निर्माणको काम केही समय प्रभावित भएको थियो । शान्ति पार्कका कोषाध्यक्ष एकबहादुर रानाले कोभिडका कारण मन्दिर निर्माणमा ढिलाई भएको जानकारी दिनुभयो । तीन तले र ५५ फिट उचाईको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ ।