श्याम्घाका मदन कुमाल : जसले भिडेरै चितुवा नियन्त्रणमा लिनुभयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्याम्घाका मदन कुमाल : जसले भिडेरै चितुवा नियन्त्रणमा लिनुभयो

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–६ शिशाघाटका मदन कुमाल बुधबार बिहान गोठालो जाँदै हुनुहुन्थ्यो । घरबाट भैसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो – दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।

    मदन कुमाल दौडिदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिड्नुभएका कुमालले चितुवाको खुट्टा समात्न पुग्नुभयो, अनि लगत्तै टाउको पनि । दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उहाँका भाई भेषबहादुर पनि घटनास्थल आइपुग्नुभयो । कुमालले भाईसँग मिलेर चितुवालाई नियन्त्रणमा लिनुभयो ।

    हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाध्न सफल भइएको कुमालले बताउनुभयो । “शुरुमा चितुवा देख्ने बित्तिकै डर लाग्यो, तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो,” कुमालले खबरपुञ्जसँग भन्नुभयो, “करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो ।” कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । “चितुवा बूढो बूढो रहेछ, चितुवालाई बाँधेर राखेपछि प्रहरीलाई खबर ग¥यौ,” उहाँले भन्नुभयो ।

    चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयवासीको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएको बारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिनुभयो । “हामीलाई प्रहरीमार्फत् जानकारी आएको छ, हाम्रो टोली त्यता जाँदैछ,” उहाँले भन्नुभयो ।