दमाैली : तनहुँको व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापाले २५ औं वैवाहिक वर्षगाँठ ज्येष्ठ नागरिक आश्रममा मनाउनुभएको छ । वडाध्यक्ष थापा र उहाँका श्रीमती मन्जु थापाले २५ औं वर्षगाँठ बिहीबार व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा मनाउनुभएको हो ।
सो अवसरमा उहाँले आश्रमका ज्येष्ठ नागरिकलाई बिहानको भोजन गराउनुका साथै आर्थिक सहयोग समेत गर्नुभएको छ । वडाध्यक्ष थापाले आश्रम सञ्चालनका लागि सहज बनाउन रु १६ हजार पाँच सय २५ नगद आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी बिहीबार नै हाल बेलायतमा रहनुभएकी प्रगति श्रेष्ठले रु पाँच हजार १५ आश्रमका लागि सहयोग गर्नुभएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । विभिन्न अवसर पारेर सङ्घसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको मल्लले बताउनुभयो ।