तनहुँ : रिक्त भएको दुई वर्षपछि खेलकुद विकास समिति तनहुँले पदाधिकारी पाएको छ । लामो समय खेलकुद विकास समिति पदाधिकारीविहिन भएर खेलकुदका गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले समितिमा पदाधिकारी एवं सदस्य नियुक्त गरेको हो ।
मन्त्रालयले समितिको अध्यक्षमा अनिल पाण्डे, उपाध्यक्षमा पदम खाँण ठकुरी र सचिवमा तुल्सीराम पाण्डेलाई मनोनित गरेको छ । मन्त्रालयले समितिको सदस्यहरु पनि मनोनित गरेको छ ।
समितिमा मनोनित हुनभएका पदाधिकारी एवं सदस्यहरुले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । समितिले आयोजना गरेको कार्यक्रममा सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले नवनियुक्त पदाधिकारी एवं सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ ।
सो अवसरमा बोल्दै समितिका नवनिर्वाचित अध्यक्ष पाण्डेले खेल क्षेत्रको विकासका लागि तीन तहको सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । खेल क्षेत्रमा प्रशिक्षकको अभावका कारण खेलको सोचेजति विकास हुन नसकेको महशुस भएकाले त्यसतर्फ आफूले काम गर्ने पाण्डेले बताउनुभयो ।
खेलकुदलाई विशुद्ध मनोरञ्जनको साधनका रुपमा लिएको कारण यसलाई जीविकोपार्जनसँग जोड्न नसकिएको बताउँदै पाण्डेले भन्नुभयो, “खेलकुदलाई जीविकोपार्जनसँग जोडेर लैजान सकिए खेलाडीलाई हौसला मिल्ने र खेल क्षेत्रमा आकर्षण बढ्नेछ ।”
पर्याप्त बजेट अभाव, पूर्वाधार अभावका कारण खेलकुदलाई अगाडी बढाउन गाह्रो भएको बताउँदै पाण्डेले खेलकुद पूर्वाधार व्यवस्थापन गर्नु चुनौति रहेको उल्लेख गर्नुभयो । “दमौली लगायतका स्थानीय पालिकाहरुमा रङ्गशाला लगायत खेलकुद मैदान अभाव छ, हामीले जिल्लास्तरीय र राष्टिय स्तरको प्रतियोगिता सञ्चालनका लागि खेलकुद मैदानको अभावमा गर्न सकेका छैनौ । त्यसतर्फ समितिको ध्यान जानेछ ।”
कार्यक्रममा सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जिल्लामा खेलकुद पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय पालिकाहरु अन्य काममा व्यस्त रहनुपर्दा खेल क्षेत्रमा ओझेलमा परेको बताउनुभयो । खेलकुदको विकासका लागि जिल्लास्तरीय कोष बनाउन प्रस्ताव गरिएपनि स्थानीय तहले उक्त कोषमा रकम उपलब्ध नगराएको वाग्लेको गुनासो छ ।
खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुषालले खेलकुदका अधुरा काम अगाडी बढाउन नवनियुक्त पदाधिकारीलाई शुभकामना व्यक्त गर्नुभयो । क्रिकेट सङ्घका अध्यक्ष ताराराम श्रेष्ठले खेलकुदमा दुई वर्षसम्म पदाधिकारी नहुँदा खेलकुदका गतिविधिमा कमी आएको महशुस भएको बताउनुभयो ।