तनहुँ : तनहुँमा पछिल्लो एक साताको अवधिमा दैनिक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । देशभर कोरोनाको जोखिम बढिरहेको सन्दर्भमा तनहुँमा पनि दैनिक रुपमा सङ्क्रमित थपिएका छन् ।
बिहीबार पनि तीन जना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकाका दुई र भीमाद नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास नगरपालिका–२ का ४२ वर्षीया महिला र ४२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै भीमाद नगरपालिका–६ का ३२ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ । सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा बुधबारसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १७ जना छन् । व्यास नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा नौ, घिरिङ गाउँपालिकामा चार सक्रिय सङ्क्रमित रहेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट तनहुँका २५ जनाको मृत्यु भएको छ ।