सहिद धर्मध्वजको सम्झनामा पुलिमराङमा बन्यो बहुउद्देश्यीय भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सहिद धर्मध्वजको सम्झनामा पुलिमराङमा बन्यो बहुउद्देश्यीय भवन

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–८ पुलिमराङका सहिद धर्मध्वज गुरुङको सम्झनामा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सहिद धर्म आमा समूहले पुलिमराङमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरेको हो ।

    नवनिर्मित भवनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले नगरपालिकाले सहिदको गाउँ पुलिमराङलाई चिनाउन मानुङदेखि प्रत्येक वर्ष अल्ट्रा म्याराथन गर्दै आएको बताउनुभयो ।

    No description available.

    सहिदको सालिक निर्माण तथा गाउँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । सडक स्तरोन्नतिका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै रु ६० लाख विनियोजन गरिएको साथै सङ्घ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको न्यौपानेले बताउनुभयो ।

    No description available.

    कार्यक्रममा व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेपाली काङ्ग्रेसका वडा सभापति बाबुराम सोती, पूर्व सभापतिद्वय दिलबहादुर गुरुङ, रामप्रसाद मिश्र, समाजसेवी एकबहादुर गुरुङ, कार्यवाहक वडाध्यक्ष प्रदिप आचार्य लगायतले प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा ६ जना सहिद भएको ऐतिहासिक गाउँ पुलिमराङको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङका अनुसार रु ४२ लाख ९१ हजार दुई सय ४४ को लागतमा भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि व्यास नगरपालिकाबाट रु तीन लाख ८० हजार प्राप्त भएको थियो । बाँकी रकम चन्दा सङ्कलनबाट जुटाइएको उहाँले जानकारी दिनुभयो ।

    भवन निर्माणका लागि स्थानीयवासी टेकबहादुर गुरुङ र उहाँको परिवारजनले रु पाँच लाख मूल्य बराबरको डेढ रोपनी जग्गा निशुल्क दान गर्नुभएको थियो ।