बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यासको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यासको निर्णय

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७८, शुक्रबार

    तनहुँ : कोभिड जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले पसलहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

    नगरक्षेत्रभित्र सञ्चालित औषधीजन्य व्यवसाय बाहेकका अन्य सम्पूर्ण उद्योग, व्यवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसाय लगायतका व्यवसाय स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    पछिल्लो केही दिनयता कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएकाले कोभिडको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताल लगायत नगरक्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुलाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

    कोभिडको लक्षणहरु देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पिसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसङ्ख्यामा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । सङ्क्रमितलाई सामान्य अवस्थामा होम आइसोलेशनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिडको उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना नगरपालिकाले आग्रह गरेको छ ।

    साथै तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दश वटै स्थानीय तहहरुसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो ।

    बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्य कार्यालय लगायतको सहभागिता थियो ।