दुलेगौँडा : रोटरी क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको महिला हिंसा न्यूनिकरणका उपायहरु विषयक वक्तृत्वकला प्रतियोगितामा प्रशंसा अधिकारी प्रथम हुनुभएको छ । २० जना प्रतिष्पर्धीलाई पछाडी पार्दै उहाँले प्रथम स्थान हासिल गर्नुभएको हो ।
शुक्रबार पञ्चमुनीदेव माध्यामिक विद्यालयका विद्यार्थीहरुबिच प्रतिष्पर्धा गराईएको हो । २१ जना विद्यार्थी सहभागि थिए । जसमा रोशन लम्साल दोस्रो, बिमला पराजुली तेस्रो र अन्जु सुनार सान्त्वना हुन सफल हुनुभयो ।
प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुन सफल विद्यार्थीहरुले क्रमश : नगद दुई हजार रुपैयाँ, एक हजार पाँच सय रुपैयाँ,एक हजार रुपैयाँ र पाँच सय रुपैयाको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रतियोगिताको निर्णायक पबित्र कुमार मल्ल, चन्द्रादेबी गौतम र दुर्गा देवि गौतम हुनुहुन्थ्यो ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले हिंसाबाट बच्न हिंसा सहन नहुने बताउनुभयो ।
क्लबका अध्यक्ष विनोदकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चमुनिदेव माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं क्लबका पुर्व अध्यक्ष सन्तोष श्रेष्ठ, विद्यालयका प्रधानध्यापक तथा रोटरी क्लव अफ शुक्लागण्डकीका चार्टर्ड प्रेसिडेन्ट धुर्वकुमार मल्ल लगायतले बोल्नुभएको थियो । क्लबकी सेक्रेटरी टुकादेवी आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत पब्लिक रिलेशनसीप प्रमुख लक्ष्मण पुरीले गर्नुभएको थियो ।
समाजमा व्याप्त रहेको महिला हिंसालाई न्यूनीकरण गर्न प्रतियोगिताले सघाउने क्लबका अध्यक्ष मल्लको विश्वास छ । कोरोनाका कारण शुक्लागण्डकीका अन्य विद्यालयका विद्यार्थीलाई सहभागी गराउन नसकिएको उ हाँको भनाई छ ।क्लबले शुक्लागण्डकी क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।