प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शनिबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएकाे छ । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएकाे हाे ।

    धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ बालकोनीमा पुग्नुभएकाे थियाे । त्यहाँबाट उहाँले काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्नुभयाे । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभयाे ।

    २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएकाे थियाे ।

    बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिनुभयाे ।

    १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

    धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताउनुभयाे ।

    गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।