तनहुँ : तनहुँका पाँच पालिकामा १० कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार भानु, भिमाद, ऋषिङ, शुक्लागण्डकी र व्यासमा सङ्क्रमित थपिएका हुन् । सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।
कोरोना जोखिम बढ्दै गएको सन्दर्भमा जिल्लामा पनि दैनिकजसो सङ्क्रमित थपिनेक्रम जारी छ । भानु नगरपालिका–८ का ६६ वर्षीय पुरुष, भिमाद नगरपालिका–४ का २७ वर्षीया महिला, भिमाद नगरपालिका–६ का ३१, ५५ वर्षीय पुरुष, ऋषिङ गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–२ का ५२ वर्षीय पुरुष, शुक्लागण्डकी-९ का २२, ५३ वर्षीय पुरुष र व्यास नगरपालिका–१ का ४० वर्षीया महिला र २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।