तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडाबाटै सेवा दिने गरी दर्ता शिविर सञ्चालन गरेको हो ।
वैशाख १० गतेदेखि शुरु भएको शिविर आगामी असार ८ गतेसम्म सञ्चालन हुनेछ । व्यक्तिगत घटना दर्ताका लागि सूचना दिने, सामाजिक सुरक्षा भत्ताको निम्ति निवेदन दिने र व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता गर्ने उद्देश्य सहित शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । जसबमोजिम म्याग्दे गाउँपालिका–१ मानुङमा सञ्चालित शिविरमा २७ वटा जन्मदर्ता र तीन विवाह दर्ता भएको गाउँपालिकाले जनाएको छ ।
शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराई) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ । व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ ।
व्यक्तिगत घटना दर्ताका लागि गाउँपालिकाले सात वटै वडाका जनप्रतिनिधि, कर्मचारी लगायतलाई अभिमुखीकरण सञ्चालन गरेको थियो ।