तनहुँ : चितवनको ठिमुरा र तनहुँ देवघाट जोड्न निर्माणधीन पुलको काम गर्दागर्दै गत आइतबार पुल भत्केर त्रिशूली नदीमा खसेर बेपत्ता एक मजदुरको शव फेला परेको छ । घटना घटेको चौथो दिनमा बेपत्ता दुई मजदुरमध्ये एक भारतको बिहार घर भएका २३ वर्षीय रन्जित माझीको शव फेला परेको हो ।
बेपत्ता माझीको शव घटनास्थलबाट ८०० मिटर तल नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा बुधबार बिहान फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभयाे । उहाँका अनुसार मृतकको मुचुल्का उठाइ पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी गरिएको छ ।
त्रिशूली नदीमा थप एक भारतीय मजदुर श्यामबाबु पाठक बेपत्ता छन् । चितवन प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ । खोजी तथा उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टोली र नेपाली सेनाको टोली खटिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयाे ।
गत आइतबार पुलको काम गर्ने क्रममा १४ जना मजदुरहरू नदीमा खसेका थिए । नदीमा खसेका मध्ये भारत मोतीहारी जिल्ला घर भएका ४३ वर्षीय विजय यादवको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते आठ जना उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।