तनहुँ : कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैङ्क तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैङ्क तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड कडाईका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैङ्क तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
कोभिड सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैङ्क तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैङ्किङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ ।