तनहुँ : दोस्रो लहरको कोरोना सङ्क्रमण बढिरहँदा तनहुँ पनि उच्च जोखिममा छ । पछिल्लो केही दिन यता तनहुँमा दिनैपिच्छे कोरोना सङ्क्रमित थपिएका छन् ।
तनहुँमा शुक्रबारसम्म ५२ सक्रिय कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार भानु नगरपालिकामा एक, व्यास नगरपालिकामा १५, शुक्लागण्डकी नगरपालिकामा १४, भिमाद नगरपालिकामा १५, म्याग्दे गाउँपालिकामा एक, घिरिङ गाउँपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा एक सक्रिय सङ्क्रमित छन् ।
सक्रिय सङ्क्रमित अधिकांश होम आइसोलेशनमै बसेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “अधिकांश सङ्क्रमित घरमै हुनहुन्छ, एक दुई जना तनहुँ भन्दा बाहिरको अस्पतालमा रहेको जानकारी आएको छ,” अधिकारीले भन्नुभयो ।
तनहुँमा हालसम्म कूल एक हजार पाँच सय २७ जनामा कोरोना सङ्क्रमण भएकामा एक हजार चार सय ४९ निको भएका छन् भने २६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।