तनहुँ : कोरोना कहरका कारण जारी गरिएको निषेधाज्ञाले रगत अभाव हुन थालेको छ । नियमित रुपमा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव हुन थालेको हो ।
रगत अभावका कारण बिरामीलाई समस्या नहोस् भन्नका लागि तनहुँको शुक्लागण्डकीमा शुक्रबार आकस्मिक रक्तदानको कार्यक्रम गरिएको छ । शुक्लागण्डकी एफएम, युवा नेपाल समिति, लियो क्लव अफ दुलेगौडा खैरेनी सिटी र विश्व हिन्दु महासङ्घ शुक्लागण्डकीको संयुक्त आयोजनामा शुक्लागण्डकीका विभिन्न ठाउँमा रक्तदान गरिएको हो ।
पोखरास्थित क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रले रक्तदानका लागि प्राविधिक सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिकास्थित बिपीचोक, बेलचौतारा, मिलडाँडा, वनकेवा चोक, ढोरफिर्दी, गाछेपानी, कवासे लगायतका ठाउँमा रक्तदान गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५७ जना रक्तदान गरिसकेका छन् ।
“अहिले रक्तदानका कार्यक्रम पूर्ण रुपमा ठप्प छ, जसकारण रगतको अभाव हुन थालिसक्यो, रगत अभाव नहोस् भन्नका लागि आकस्मिक रुपमा रक्तदानका कार्यक्रम गरेका हौ,” उहाँले भन्नुभयो, “रक्तदानका लागि मोवाइल भ्यान प्रयोग गरिएको छ ।”
रगत अभाव हुँदा नियमित रुपमा डायलासिस गर्ने, रक्तअल्पता लगायतका बिरामी समस्यामा पर्ने गरेका छन् ।