तनहुँ : तनहुँ जिल्लाका तीन अस्पताललाई सुविधासम्पन्न बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिएको छ । शुक्रबार सङ्घीय सांसद एवं स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र बन्दीपुर अस्पताललाई सुविधासम्पन्न बनाउन माग गर्ने निर्णय गरेको हो ।
कोभिड सङ्क्रमणको वर्तमान अवस्था र भविष्यमा समेत आउन सक्ने सबै प्रकारका महामारीलाई मध्यनजर गर्दै ती अस्पतालमा भवन, प्रविधि र जनशक्तिले सक्षम बनाई जिल्लावासीलाई आवश्यक पर्दा जुनसुकै समयमा सेवा प्रदान गर्न सक्ने बनाउन सरकारसँग अनुरोध गरिएको छ ।
बैठकले तनहुँ जिल्लाबाट सङ्कलन गरी पठाइने स्वाबको रिपोर्ट आउन ढिलाई हुँदै जोखिम रोकथाममा समस्या भएको निष्कर्ष सहित रिपोर्ट छिटो आउने वातावरण बनाउन स्वास्थ्य निर्देशनालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्लामा अत्याधुनिक पिसिआर परीक्षण गर्ने समेतको ल्याबको आवश्यकता महशुस भएकाले उक्त ल्याब स्थापना गर्न सहयोगका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
Scan2021-05-21_144901