दमाैली : एसओस बालग्रामले तनहुँको दमौली अस्पताललाई अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन उक्त संस्थाले व्यास नगरपालिकामार्फत् अस्पताललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
एसओस बालग्राम गण्डकीका निर्देशक भगतकुमार श्रेष्ठ र प्रदीपभक्त आचार्यले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्व वहन गर्न संस्थाले अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
उक्त संस्थाले व्यास नगरपालिका–१३ र १४ मा समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त संस्थाले अस्पताललाई ४० लिटरको अक्सिजन सहितको सिलिन्डर पाँच थान, पाँच थान शय्या, ५० थान पिपिई सेट, ६० थान फेसशिल्ड, एक सय थान एन९५ मास्क, २० लिटर स्यानीटाइजर र एक हजार थान पञ्जा सहयोग गरेको छ ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले कोरोना महामारीका बेला एसओएस बालग्रामको सहयोग अतुलनीय रहेको बताउनुभयो । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो ।