दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले दमौली अस्पताल र कालीभञ्जन गण (इ) लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण रोकथाम र न्यूनीकरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हौसला बढाउने उद्देश्यले सङ्घले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
सङ्घले स्थापना गरेको कोभिड सङ्कट महाअभियान मार्फत् आइतबार दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारी र गणका सेनानी प्रज्वल अधिकारीलाई सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
दमौली अस्पताललाई १० थान पिपिई, एक थान अक्सिमिटर, २५ थान फेसशिल्ड, एक सय थान हेडक्याप, तीन प्याकेट ग्लब्स, एक थान थर्मोमिटर, दुई जोर व्याट्री, १० पोका मास्क, ३० थान एन९५ मास्क, चार थान पाँच सय मिलि स्यानीटाइजर स्प्रे, दश थान एक सय एमएल स्यानीटाइजर स्प्रे, ५०० एमएल स्यानीटाइजर, ६ थान डस्टविन, ८ थान बास्केट र चार जोर गमबुट प्रदान गरिएको छ ।
गणलाई ६ थान पिपिई, २० थान फेसशिल्ड, ४० थान हेडक्याप, २ प्याकेज ग्लब्स, एक थान थर्मोमिटर, पाँच पोका मास्क, २० थान एन९५ मास्क, स्यानीटाइजर, डस्टविन, बास्केट, गमबुट प्रदान गरिएको छ ।
कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्न सङ्घले कोष खडा गरेकामा उक्त कोषमा देश तथा विदेशबाट स्वतःस्फूर्त रुपमा सहयोग आउन थालेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने श्रेष्ठले उल्लेख गर्नुभयो । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले सङ्घले थालेको अभियान सकारात्मक रहेको भन्दै प्राप्त सामग्रीको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, दमौली बजार इकाई सभापति भूपाल आले, महिला उद्यमी सभापति शकुन्तला आले लगायतको सहभागिता थियो ।