संस्थागत स्वमूल्याङ्कन नतिजामा म्याग्दे पहिलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संस्थागत स्वमूल्याङ्कन नतिजामा म्याग्दे पहिलो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार म्याग्दे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो ।

    जिल्लाका दश स्थानीय तहमध्ये ६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा व्यास नगरपालिकाले ६९.५, बन्दीपुर गाउँपालिकाले ६५, भिमाद नगरपालिकाले ५७.५, देवघाट गाउँपालिकाले ६०.५ र घिरिङ गाउँपालिकाले २७.७५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रहरुमा तीन स्थितिहरु विभाजन गरी उक्त नतिजा सार्वजनिक गरिएको हो ।

    म्याग्देले समग्र स्थितितर्फ ६५.४८, प्रकृयागत स्थितितर्फ ६४.७१ र परिमाणात्मक स्थितितर्फ ७७.७८ प्रतिशत अङ्क प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । समग्र, प्रकृयागत र परिमाणात्मक स्थिति विभाजन गरी एक सय सूचकहरुमा रही स्थानीय तहले अनलाइनमै सूचक अङ्क आवश्यक कागजात र प्रमाण पेश गरी दावी गर्ने व्यवस्था गरिएको थियो ।

    गाउँपालिकाले शासकीय प्रबन्धतर्फ ९४.४४, सङ्गठन तथा प्रशासनतर्फ १००, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ९०.९१, वित्तीय एवं आर्थिक व्यवस्थापन ८६.३६, सेवा प्रवाहतर्फ ७६.५६, न्यायिक कार्य सम्पादनतर्फ ७८.५७, भौतिक पूर्वाधारतर्फ १९.२३, सामाजिक समावेशीकरणतर्फ ७०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ७२.२२ र सहकार्य र समन्वयतर्फ १६.६७ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

    गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नमूना बनाउने अभियानमा आफूहरु लागिपरेको अध्यक्ष मायादेवी रानाले बताउनुभयो ।

    गाउँपालिकाले यो नतिजा प्राप्त गर्न यसअघिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको महत्वपूर्ण भूमिका रहेको छ । उहॉको कार्यकालमा गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो ।

    स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

    मन्त्रालयको कार्यविधि अनुसार शासकीय प्रबन्धतर्फ ९, सङ्गठन तथा प्रशासनतर्फ ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ ७, भौतिक पूर्वाधारतर्फ ७, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ९ र सहकार्य र समन्वयतर्फ ६ कूल भार निर्धारण गरिएको छ ।