पदभार ग्रहण गर्दै मन्त्री लम्सालको निर्णय : अब उद्योग नविकरण अनलाईनबाटै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पदभार ग्रहण गर्दै मन्त्री लम्सालको निर्णय : अब उद्योग नविकरण अनलाईनबाटै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१


    पोखरा : मन्त्री विकास लम्सालले सोमबार पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गण्डकी प्रदेश भित्रका उद्योगहरु अब अनलाईन प्रणाली मार्फत नविकरण गर्न मिल्ने फाईल सदर गर्नुभएको छ ।

    वन, वातावरण तथा भु संरक्षण मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएका मन्त्री लम्सालले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई जनमुखी बनाउन समेत जोड दिनुभयो ।

    उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिदै उहाँले मन्त्रालयका कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभयो । मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिदै मन्त्री लम्सालले एक स्थानिय तहमा एक उद्योग ग्राम निर्माण गर्ने, पालिकामा उद्योग मैत्री वातावरण निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, दैनिक उपभोग्य सामाग्री उत्पादन गरेर अत्मनिर्भर बन्ने वातावरण सिर्नना गर्ने बताउनुभयो ।


    साथै उहाँले २ वटा प्रादेशिक स्तरिय औद्योगिक क्षेत्रको कामलाई समेत तिब्र गति दिने बताउदै दैनिक उपभोग्य वस्तु तथा खाद्य पदर्थमा आधारित उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
    युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिंदै उद्योग मर्मत उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पुग्ने गरि काम गर्ने बताउनुभयो ।


    यस अघिको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लाई फुटाएर पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र वन, वातावरण तथा भु संरक्षण मन्त्रालय बनाईएको छ । वन, वातावरण तथा भु संरक्षण मन्त्रालय पहिलेकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राखिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवन मासबारमा राखिएको छ ।