तनहुँ : तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गर्न लागिएको पिसिआर प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रयोगशाला निर्माणका लागि जनप्रतिनिधिले एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त बैठकमा सहभागी जनप्रतिनिधिले त्यस प्रस्तावमा सहमति जनाएको र अन्य सबै जनप्रतिनिधिलाई पनि अनुरोध गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाउँदा हप्ता दिनसम्म पनि रिपोर्ट नआएपछि नगरपालिका आफैले प्रयोगशाला निर्माण गर्न लागेको छ । त्यसका लागि जिल्लाका अन्य पालिकाले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।
नगरपालिकाले प्रयोगशाला निर्माणमा सहयोग गर्न शिक्षक, कर्मचारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायतलाई अनुरोध गरेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो ।
जेठ १५ गतेसम्म सेवा बन्द
नगरपालिकाले जेठ १० गतेसम्म नगरपालिका तथा वडाको सेवा बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै जेठ १५ गते पुर्याएको छ । नियमित सरसफाई, स्वास्थ्य सेवा बाहेक अन्य सबै यस अवधिमा बन्द रहनेछ ।
थप निर्णय हेर्नुहोस् –