तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको छ ।
सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मङ्गलबार मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भएपनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताउनुभयो । “स्थानीय नागरिकहरुबाट उक्त भ्याक्सिनको अत्याधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्रभने नागरिकको जीवन रक्षाका लागि हामी आफै खरिद गर्छौ, त्यसका लागि अनुमति दिओस्,” रानाले भन्नुभयो ।
गाउँपालिकाले सबै नागरिकलाई कोभिड विरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्ड अनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । “सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भएपनि खोप खरिद गर्छौ,” अधिकारीले भन्नुभयो ।