तनहुँ : शनिबारसम्म तनहुँमा धेरै पानी पर्ने सम्भावना रहेकाले सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार सूचना प्रकाशित गरी पश्चिम बङ्गालखाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रपातका कारण जिल्लामा पनि धेरै पानी पर्न सक्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गर्नुभएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुरो शक्तिशाली चक्रपात यास समुन्द्रबाट जमिनमा ठक्कर खाई नेपालभित्र प्रवेश गरिसकेकोले पहिरो, हावाहुरीबाट बच्न प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले बाढीपहिरो र डुवान हुने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने लगायतका कार्य नगर्न, सेतीमादी लगायत अन्य खोलाको छेउछाउमा नजान आग्रह गरेको छ । कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको फोन नं ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६००११११ र प्रहरी उपरिक्षकको नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।