तनहुँ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई तेस्रो पटक लम्ब्याइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जेठ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको थियो । बरालका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ । प्रशासनले यसअघि वैशाख २२ गतेदेखि ३१ गतेसम्म पहिलो पटक र जेठ १५ गतेसम्म दोस्रो पटक निषेधाज्ञा लागू गरेको थियो ।
प्रशासनले बैङ्क तथा वित्तीय संस्थाबाट सीमित कर्मचारी राखी कठिनाई परेका अतिआवश्यक काम भएका ग्राहकहरुको समस्या बुझी चेक भुक्तानी, जम्मा र अन्य सेवा दिन बैङ्कले जिम्मेवार कर्मचारीको फोन नम्बर समेत उपलब्ध गराई आवश्यक व्यवस्था मिलाउन सबै वित्तीय संस्थालाई निर्देशन दिएको छ ।