पूर्वमन्त्री भण्डारीकाे पहलमा दुई अस्पताललाई १७ थान अक्सिजन सिलिन्डर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री भण्डारीकाे पहलमा दुई अस्पताललाई १७ थान अक्सिजन सिलिन्डर

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    दमाैली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन शुक्रबार हस्तान्तरण गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सदरमुकामस्थित दमौली अस्पताललाई उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई दश थान र दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेललाई सात थान सिलिन्डर हस्तान्तरण गर्नुभयो ।

    समन्वय समितिका प्रमुख वाग्लेले सङ्क्रमणको घडीमा पूर्वमन्त्री भण्डारीले गरेको पहल सराहनीय रहेको बताउनुभयो । दमौली अस्पतालका प्रमुख डा. पौडेलले अक्सिजनको अभावमा बिरामीहरुले ज्यान गुमाई रहनुपरेको अवस्थामा पूर्वमन्त्री भण्डारीको पहलमा अक्सिजन सिलिन्डर उपलब्ध गराउने कार्य अतुलनीय रहेको बताउनुभयो ।

    पूर्वमन्त्री भण्डारीले यसअघि जिल्लाका अस्पताल र आइसोलेसन कक्षमा स्वास्थ्य सामग्री हस्तान्तरणका लागि नेपाली काङ्ग्रेस तनहुँमार्फत् रु एक लाख एक हजार एक सय ११ उपलब्ध गराउनुभएको थियो ।