निवेदक पक्षका वकिल र महान्यायाधिवक्ताबीच मतभेद भएपछि सुनुवाइ स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निवेदक पक्षका वकिल र महान्यायाधिवक्ताबीच मतभेद भएपछि सुनुवाइ स्थगित

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    काठमाडौँ : संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सवोच्चमा दायर रिटमाथिको आजको सुनुवाइमा स्थगित भएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलाशमै मतभेद भएपछि सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको छ ।

    तत्कालिन नेकपाको विवादका बारेमा फैसला गर्ने न्यायाधीश न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयमा रिट दायर गर्ने पक्षका अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले प्रश्न उठाएपछि इजलासमा मतभेद देखिएको थियो ।

    अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने जवाफ फर्काउनुभएको थियो ।

    विवादकै बीच शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिनुभयो । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद समेत भएको थियो ।

    महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकारसमेत लिन खोजेको भन्दै प्रतिवाद गर्नुभयो।

    महान्यायाधिवक्ता वडालले आफुले इजलाशमा कानून व्यवसायीको आचारसंहिताको विषय उठाएको बताउनुभयो ।विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गर्नुभएको छ ।