दमाैली : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिँदा समेत लुकाएर बसेको गुनासो आएपछि व्यास नगरपालिकाले टोल टोलमा पुगेर बिरामी खोज्ने भएको छ । लक्षण देखिँदा पिसिआर परीक्षण गर्न नआई लुकाई छिपाई घरमा नै बस्दा समुदायस्तरमा सङ्क्रमणदर उच्च बन्दै जाने भएकाले नगरपालिकाले बिरामी निगरानीका लागि स्वयंसेवक परिचालन गर्न लागेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नियमित बैठकले स्थानीय टोल विकास संस्थाका पदाधिकारीहरु, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरु, सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा सम्बन्धित वडाका जनप्रतिनिधि, उद्योगी व्यवसायीहरु समेतको सहभागितमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
सरकारले जारी गरेको निर्देशिका बमोजिम पिसिआर गरेको दिनदेखि १४ दिनपश्चात् कुनै पनि व्यक्तिलाई सङ्क्रमण नसर्ने भएकाले सङ्क्रमित व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पालना गरी अन्य सरह सामाजिक जीवन यापन गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न नगरपालिकाले अनुरोध गरेको छ । त्यसका लागि वडाका जनप्रतिनिधिको सहयोग र समन्वयमा सम्बन्धित वडाको कोभिड फोकल पर्सनलाई सङ्क्रमणमुक्त भएका व्यक्तिसँग सम्पर्क गरी नियमित अनुगमनका लागि निर्देशन गरिएको शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो ।