दुलेगाैडा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले तनहुँका ६७ जनाको ज्यान लिएको छ । यो सङ्ख्या पहिलो र दोस्रो लहरमा ज्यान गुमाउनेको हो । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार पहिलो चरणमा फैलिएको संक्रमणले वर्ष दिनमा २५ जनाको मृत्यु भएको थियो ।
दोस्रो लहरको कोरोना फैलिएको डेढ महिनामा भने ४२ जना सङ्क्रमितकाे मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयाे । यो तथ्याङ्क वैशाख यता शुक्रबारसाँझ सम्मको हो । शुक्रबार पछिल्लो २४ घण्टामा मात्रै हालसम्मकै उच्च ६ जनाको मृत्यु भयो । शुक्लागण्डकी नगरपालिकाका २, भानु नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका १/१ जना संक्रमितको मृत्यु भएको छ ।
यी सबैको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दोस्रो लहरको कोरोना जिल्लामा तीव्र गतिमा फैलिएको छ । हालसम्म १ हजार ६ सय ९ जनालाई कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयाे । यीमध्ये ३ सय ९० जना निको भएका छन् । १ हजार १ सय ७७ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५८ जना मात्र आईसोलेसनमा छन् । बाँकी होम आईसोलेसनमा रहेको जनाईएको छ ।
दोस्रो लहरको कोरोना गाउँ–गाउँमा फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारी बताउनुहुन्छ । ‘विवाह, ब्रतबन्ध र भोजभतेरले गाउँ–गाउँमा संक्रमण फैलिएको छ,’ उहाँले भन्नुभयाे । संक्रमणदर बढ्दै गएकाले गाउँ–गाउँमा पिसीआर र एन्टिजिन परिक्षणको दायरा बढाउने निर्णय भएको उहाँले बताउनुभयाे ।
काेरोना पुष्टि भएकालाई समाजले गर्ने व्यवहारका कारण अझै रोग पालेर बसेका छन् । उनीहरु पिसीआर परिक्षण गराउनै चाहँदैनन् । कोरोनाको संक्रमण रोक्न २२ वैशाख राती १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको थियो । शनिबार राति दोस्रो चरणको निषेधाज्ञा सकिदैछ । शुक्रबार नै फेरी आगामी १ हप्ता निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । २२ जेठ राती १२ बजेसम्म तेस्रो चरणको निषेधाज्ञा लागु हुनेछ ।
कोरोनाको संक्रमणका कमी नआएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्य बताउनुहुन्छ । उहाँ भन्न्हुन्छ, ‘संक्रमणदर निकै बढेको छ । यसलाई कन्ट्रोल गर्ने निषेधाज्ञाले नै हो ।’ उनले घरबाहिर निर्धक्क हिँडडुल गने बानी अझै नरोकिएको गुनासो गरे । घरमै बसेर कोरोना नियन्त्रणमा सघाउन जिल्लावासीलाई प्रजिअ आचार्यको अनुरोध छ ।