तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    तनहुँ : आगामी वर्ष ०७८/७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्कृष्ट रहेको बताउनुभयो । “बजेटमा सम्बोधन भएका विषयले पछिल्लो दशककै उत्कृष्ट बजेट आएको महुशस भएको छ,” श्रेष्ठले भन्नुभयो ।

    श्रेष्ठले बजेटमा निजी क्षेत्रको माग सम्बोधन भएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घको परामर्श समितिमार्फत् सरकारलाई दिएको मागहरुलाई बजेट सम्बोधन गरेको श्रेष्ठको भनाई छ । उहाँका अनुसार बजेटले विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि सबै क्षेत्रलाई महत्व दिएको छ ।

    नेपाल चेम्बर अफ कमर्स तनहुँले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । व्यवसायीले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी वर्षको बजेट आएको कमर्सका जिल्ला उपाध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो ।

    “चेम्बर अफ कमर्सले सरकारलाई दिएको सुझाव अनुसार नै बजेट आएको छ, सरकारले ल्याएको बजेटको चौतर्फी स्वागत गरिएको छ,” श्रेष्ठले भन्नुभयो, “जनमुखी बजेट आएकाले यसको कार्यान्वयनमा सरकार उत्तिकै गम्भीर भएर लाग्नुपर्छ ।”

    बजेट व्यवसायीको हकहितका विषयलाई पनि सम्बोधन गरेको श्रेष्ठले बताउनुभयो । कोरोना कहरका कारण थला परेको उद्योग व्यवसाय क्षेत्रलाई पनि बजेटले छोएको उहाँको भनाई छ । “विस्तृतमा अध्ययन गर्न नपाएपनि व्यवसायीलाई राजश्व छुटका कार्यक्रम बजेटमा समावेश भएको छ,” उहाँले भन्नुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सहुदलियत दरको ऋण उपलब्ध गराउन माग गर्नुभयो ।

    बजेटले सबै क्षेत्रलाई समेट्नु एकदमै राम्रो भएको उहाँको भनाई छ । युवावर्गदेखि वृद्धवृद्धा, कर्मचारी लगायत सबै क्षेत्रलाई बजेटले समेटेको श्रेष्ठले बताउनुभयो । “सबैले आकाङ्क्षा गरेभन्दा पनि राम्रो बजेट आएकाले कार्यान्वयन पक्षमा चुनौति हुन सक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ,” श्रेष्ठले भन्नुभयो ।

    २० लाख सम्म कारोवार भएका करदातालाई आयकरमा ९० प्रतिशत छुट, २० लाख देखि ५० लाख सम्म कारोवार भएका करदातालाई आयकरमा ७५ प्रतिशत छुट, ५० लाख देखि १ करोड सम्म कारोवार भएका करदातालाई आयकरमा ५० प्रतिशत छुट दिने विषय बजेटमा सम्बोधन गरिएको छ । विसं २०७६ असार मसान्तसम्म कर बक्यौता रहेका करदाताले कर र सो मा लाग्ने ब्याजको ५० प्रतिशत रकम २०७८ पुस मसान्तसम्ममा दाखिला गरे बाँकी ब्याज, शुल्क र थप दस्तुर मिनाहा हुने लगायतका विषयले निजी क्षेत्रलाई सकारात्मक बनाएको छ ।