दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले दमौली अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन सङ्घले अस्पताललाई ६ थान सिलिन्डर हस्तान्तरण गरेको हो ।
सङ्घले स्थापना गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमार्फत् अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष श्रेष्ठले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेललाई उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभयो ।
सङ्घले केही दिन अगाडी दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, कालीभञ्जन गण (इ) लाई स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पौडेलले अक्सिजन सिलिन्डर प्राप्त भएपछि सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो ।
सङ्घले खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । सोही कोषबाट प्रशासन कार्यालयको समन्वयमा सङ्घले २५ थान अक्सिजन सिलिन्डर खरिद गरेर ल्याएको छ ।