म्याग्देको निर्णय : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देको निर्णय : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

    त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट व्यहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

    गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

    आगामी वर्षको बजेटको मार्गदर्शन पारित

    गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि बजेटको मार्गदर्शन पारित गरेको छ । गाउँपालिकाले आगामी वर्ष रु ६५ करोड ६६ लाख ३१ हजारको बजेट ल्याउने भएको छ ।

    त्यसका लागि कार्ययोजना स्वीकृत भएर बजेटको तयारी गर्न कार्यालयलाई निर्देशन दिइएको छ । बजेटको तयारी गर्नका लागि एक दिन बिराएर कार्यालय खोल्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

    मूल्याङ्कनबाट नतिजा

    कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि गाउँपालिकाले मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई निर्देशन गरेको छ । अधिकारीका अनुसार जेठ मसान्तभित्र विद्यालयको नतिजा प्रकाशन गर्न विद्यालयलाई भनिएको छ ।